तरकारी खाइने, तुम्बाका जातको लामो र डोलो लहरे फल तरकारीलाई लौका भनिन्छ । अंग्रेजीमा यसलाई बोटल गार्ड भनिन्छ ।
शरिर तन्दरुस्त राख्न नभै नहुने कार्बोहाइड्रेट र प्रटिन यसमा प्रशस्त पाइन्छ । दिसा गोटा पर्ने रोगको उपचारको लागि यसले मदत गर्छ भने यसको गुदीले पिसाबको रोग सन्चो गराउछ अनि खाएको विषलाई पनि काट्न सक्छ । त्यसैले लौकोको गुदीले विष मार्ने औषधि “एन्टिडट” को काम गर्छ ।
लौका वर्षे तरकारी हो । तापनि गर्मीको महिनामा यसको खेती बढी गरिन्छ । लौकोको खेती सुरु गर्ने खास समय फागुन–चैत हो । धेरै वर्षा, बादल भए रोग र कीरा धेरै लाग्छ । चिसो भए बढ्दैन ।
लौकाको लागि बलौटे, दोमट र प्राङ्गारिक पदार्थ धेरै भएको माटो उत्तम मानिन्छ । चैत बैशाखमा लौकाको फल लिने हो भने पुष माघको जाडोमा नै लौकाको विउ रोपेर बेर्ना तयार गर्नु पर्छ । पालिथिनको थैलोमा उमारेर बारीमा सार्न पनि सकिन्छ । यसो गर्दा विउ चाँडै उम्रन्छ ।
जमीनलाइ राम्रोसँग खनजोत गरेर ड्याङ्ग बनाइ नापअनुसार चिनो लगाउने, खाल्डो खन्ने र मल माटो मिसाएर पुर्ने अनि विरुवा सारेर सिँचाइ गर्ने । पानि जम्न दिनु हुँदैन ।
लौकाका यी मुख्य जातहरु हुन् ः
क) पुसा समर प्रोलिफिक लङः यो जातको फल ४० देखि ५० सेमी लामो र २० दखि २५ सेमी मोटो हुन्छ । रङ हल्का पहेँलो हुन्छ ।
ख) पुसा समर प्रोलिफिक राउन्डः यो जातको फल १५ देखि १८ सेमी चौडा गोलो हुन्छ ।
ग) पुसा मेघदूतः यो जात अलि चाँडै तयार हुन्छ । प्रति हेक्टर २५ मेट्रिक टनसम्म उत्पादन हुन्छ ।
लौकाको लहरामा पाउडरी मिल्ड्यु र मोजाइक आदि रोगले धेरै दुख दिन्छ । पाउडरी मिल्ड्यु रोग नियन्त्रण गर्न “कैराथिन” नामक झोललाई पानीमा घोलेर छर्नु पर्छ । डाउनी मिल्ड्युको लागि ईण्डोफिल एम ४५ नामको विषादी धूलो २०० ग्राम १०० लिटर पानीमा घोलेर १०–१५ दिनको फरकमा तीन–चार पटक छर्नुपर्छ ।
कीरातर्फ लौको झालमा खास गरेर रेड पम्किन विटल र फ्रुट फ्लाइ लाग्छन । फ्रुट फ्लाइ भनेको फल कुहाउने औँसा जन्माउने झिँगा हो । यसको पाथीले आफ्नो तिखो फूलपार्ने अङ्गले नरम फलमा छेडेर भित्र फूल पार्छ । यी फूलहरुबाट मसिना औँसाहरु निस्कन्छन् र फलभित्र पसी खान्छन् । अनि फल कुहिएर झर्छ । यसको रोकथाम गर्न गाह्रो छ । त्यसैले भालेलाई समयमै मार्न सकेमा पोथीले पारेको बतासे अन्डाबाट औँसा निस्कन पाउँदैन र फल बाँच्छ । यसका लागि एक प्रकारको पासो पाइन्छ । पासोमा भाले झिँगालाई आकर्षित गर्ने एक प्रकारको विषादी पनि राख्न सकिन्छ । गन्धले आकर्षित भएर भाले पासोमा पर्छ र विषादिले गर्दा मर्छ । यो पासोेलाई फेरोमिन ट्राप भनिन्छ ।
सबै प्रकारका बालीलाई पासोमा फसाएर नियन्त्रण गर्न सकिन्छ तर पासोमा प्रयोग हुने रसायन केहि फरक हुन सक्छ । त्यसैले रसायन खरीद गर्दा फलानो बालीको भनेर व्यापारीलाई बताएर खरीद गर्नु पर्छ ।